संकटको यो घडिमा आप्रबासी कामदार मित्रजनलाइ केही टिप्सहरू – ९

 

९ मइ २०२०

अहिले कोभिड-19 संक्रमनका कारण हामी आप्रबासी कामदारहरू कर्मभूमिहरू र जन्मभूमि दुबैतिर नराम्ररी प्रभावित भएका तथ्यहरू लुकाएर लुक्ने खालका छैनन । जोखिम, सकस र संकट सबैतिर छन । यस्तोमा हामीले के कसो गर्नु उचित हुन्छ? हामीलाइ लागेका केही सुझावहरू टिप्सका रूपमा शेयर गर्न चाहन्छौं ।

१- रोजगारदाताले श्रम कानुन बमोजिम छोटो समयका लागि बिदा दिएको छ भने बिदा लिएर बस्ने

२- रोजगारदाताले बिशेष पर्मिट लिएर काममा लगाएको छ र काममा जानबाट इन्कार गर्न सकिने अवस्था छैन, भने अधिकतम सावधानी अपनाउंदै न्युनतम काम गर्ने

३- सावधानीहरू भनेको मुलतः PPEs (मास्क र पञ्जा लगाउने), सामाजिक दूरी हमेशा सबैसंग कायम गर्ने, कार्यस्थल र हातले छुने सबै चिजहरू स्यानिटाइज गर्ने र हात धुने नै हुन । स्मरणिय छ कि कोरोना संक्रमितले खोक्दा या हांछ्यु गर्दा १-४ मिटर परसम्म भाइरस फैलिने तथ्य छन । अस्पतालहरूमा कोरोना संक्रमितलाइ छुनुपर्ने, उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीहरू फुलबडी PPEs को प्रयोग गर्ने भएकाले वहांहरू सुरक्षित हुनुहुन्छ, तर हामीसंग त्यस्तो सुरक्षा उपकरण हुन्न, त्यसैले सामाजिक दूरी राख्नु जरूरी हुन्छ ।

४- कम्पनीसंग काम नै छैन या काम नदिइ बिदामा राखेको छ भने घर बिदामा जाने या आफ्नो इच्छा र परिस्थिती हेरी एक्जिट नै जाने तयारी गर्ने, यसका लागि खाडीका सबै नेपाली दूतावासहरूले घर फर्किन चाहनेहरूको नामावली तयार पारिरहेका छन, बेलैमा आफ्नो नाम दर्ता गराउने । खाडीका सबै नेपाली दूतावासहरूमा नाम दर्ता गराउन के कसो गर्नुपर्छ? भन्ने बारेमा आकास नेपालले यस अघि नै सूचना प्रकाशन गरेको छ, जसलाइ यो लिंक https://migworksnepal.org/?p=442 मा हेर्न सकिन्छ ।

५- खाडी क्षेत्रमा रहेका नेपाली नियोगहरूमध्य कतार, युएइ, कुवेत, बहराइन र ओमान सबैले प्रभावित नेपाली कामदारहरूलाइ आ आफ्ना समस्याहरू उल्लेख गरी भर्न अनलाइन फारमहरू वेभमै उपलब्ध गराइदिएका छन तर साउदी अरबमा रहेका दुबै नेपाली नियोगहरूले यो सुविधा दिएका छैनन र बिकल्पमा केही मोबाइल नम्बरहरूमा फोन गर्न भनेका छन, जुन माथिको लिंक खोल्नुभयो भने देखिहाल्नुहुन्छ ।

५.१- फोन गर्नु अघि केही तयारी गर्नुहोला जस्तैः कम्तिमा १० मिनट जति (सबै समस्या र बिवरण टिपाउन यति समय लाग्नसक्नेहुंदा) कुरा गर्न मोबाइलमा ब्यालेन्स राख्नुहोला (नियोगहरूले उपलब्ध गराएका फोनहरू टोल फ्रि हैनन, मोबाइल फोन हुन, त्यसैले) । त्यसैगरी चाहिने बिवरणहरू जस्तैः आफ्नो पासपोर्टमा रहेका बैयक्तिक बिवरणहरू, इकामा नम्बर/बर्डर नम्बर, काम, काम गरेको अवधि, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावर कम्पनीको नाम, H.R. Manager या P.R.O. को नाम, नम्बर आदि तयारी अवस्थामा राखेर मात्र फोन गर्नुभयो भने चाहिने सबै बिवरणहरू छोटो समयमै टिपाउन सजिलो हुन्छ ।

५.२- फोनका अतिरिक्त नियोगहरूलाइ इमेल, ह्वाट्सअप र फेसबुक मेसेञ्जरमा पनि आफ्ना कुरा राख्नसक्नुहुन्छ । वास्तवमा तपाइले आफुले दूतावासमा राखेका समस्या, बिवरण, माग पछि चाहिंदा मिति, समय सहितको रेकर्डमा भेटिउन भन्ने चाहनुहुन्छ भने फोन भन्दा इमेल या मेशेञ्जरहरूमा लिखित या भ्वाइस मेशेज पठाउनु र कागजातहरू (पनि) शेयर गर्नु राम्रो हुन्छ । टेलिसम्वाद रेकर्ड हुन्नन, गर्नु अबैध मानिन्छ, रेकर्ड नहुंदा पछि खोज्दा भेटिन्नन पनि ।

५.३- यदि आफ्ना कुरा, समस्या र मागमा सार्वजनिक महत्व देख्नुहुन्छ, अरू हरूको पनि ध्यानाकर्षण गर्दै सम्भावित मदत या ऐक्यबद्धता चाहनुहुन्छ र त्यस अर्थमा अरूहरूलाइ पनि शेयर गर्नचाहनुहुन्छ भने दूतावासहरूले अचेल दैनिक शेयर गर्ने सूचना र सन्देशमै कमेन्टमा लेखिदिनसक्नुहुन्छ तर जतिसुकै दुख, समस्या र आपत्ति नै प्रकट गर्नुपर्दा पनि सदैव शिस्ट र सभ्य भाषामा राख्नुपर्दछ । सकभर निजि ब्यक्तिगत कुरा हुन भने प्राइभेट इन्बक्समै गएर गर्नु सहज र उचित मानिन्छ र जबाफ पाउने सम्भावना पनि बढी हुन्छ ।

६- भारत, पाकिस्तान, फिलिपिन्स, इजिप्त, बंगलादेश जस्ता कामदारहरू पठाउने प्रायः सबै मुलुकहरूले आ आफ्ना नागरिकहरूलाइ स्वदेश फर्काउन थालिसक्दा पनि नेपालले अहिलेसम्म त्यसको कुनै स्पस्ट नीति, निर्णय, योजना र कार्यतालिका (समय तालिका) सार्वजनिक नगर्दा लाखौं आप्रबासी कामदारहरू ठूलै चिन्ता र तनावमा छौं । तर हामीले यो पनि बुझिरहेका छौं कि अरू कैयन देशहरूमा कोभिड-19 को संक्रमन उत्कर्षमा पुग्दा, पुगेर पनि झर्दै नियन्त्रण उन्मुख हुंदा नेपालमा भने संक्रमन भर्खर बढ्न थालेको छ र कैयन महिना बितिसक्दा पनि नेपालसंग आप्रबासी कामदारहरूलाइ राख्ने क्वारेन्टाइनको यथेस्ट ब्यवस्थापन नै भैसकेको छैन, परिक्षण र उपचारको ब्यवस्था अझै सुदृढ छैन र यिनै कारण पनि सरकारले स्वदेश फिर्तिमा आनाकानी गरिरहेको पनि बुझ्न सकिन्छ । प्रबासमा सबैले सोध्ने दुतावासहरूलाइ नै हो र नेपाल सरकारले निर्णय नगरिसकेकाले नै दूतावासहरूले जबाफ दिन पनि नमिलेको होला । तर दूतावासहरूले गर्नैपर्ने, गर्नमिल्ने काम पनि नगरेको देख्दा हामी थप दुखी छौं । जस्तैः प्रबासमा कुन कुन देशमा नेपालीहरूको संक्रमनको यथार्थ र अद्यावधिक अवस्था के कस्तो छ? भन्ने जानकारी दूतावासहरूले दिनुपर्छ, दिनसक्छन, अन्य देशका दूतावासहरूले दिइरहंदा नेपालले मात्रै दिननमिल्ने भन्ने हुंदै हुंदैन। यो हाम्रो सुसूचित हुनपाउने नागरिकहरूको हक पनि हो र हाल यो हकबाट बाञ्चित गरिएकोले यसको सबैले माग गरौं ।

७- अर्को, आप्रबासी कामदारहरूको कानुनी हक पनि छ – त्यो हो नेपालको बैदेशिक रोजगार ऐन २०६४ को दफा ७५ बमोजिम स्वदेश फर्किन पाउने हक। इतिहासमा दोस्रो पटक यस दफाको उपदफा २ जसमा सरकारी पहलमै स्वदेश फर्काइनुपर्ने प्रावधान (युद्ध, महामारी र प्राकृतिक प्रकोप को अवस्थामा) भन्ने आकृष्ट भएको छ । यसको पहिलो प्रयोग गर्दै लिबियामा गृहयुद्ध हुंदा तत्काल त्यहां रहेका नेपाली कामदारहरूलाइ चार्टर्ड बिमानहरूबाट स्वदेश (नेपाल) ल्याइएको थियो । यद्यपी दफा ७५ को उपदफा १ (जसमा पठाउने म्यानपावर एजेन्सी नै जिम्मेवार हुने भन्ने छ), पनि कतिपय केशहरूमा लागुहुनसक्ने अवस्था हुनसक्छन किनकि एकातिर महामारीका बिचमै पनि हाल प्रायः सबै मुलुकहरूमा केही न केही कामकाजहरू भइ नै रहेका छन, माहामारीको असर कम गर्न गन्तब्य मुलुकहरूका सरकारहरूले निजी क्षेत्रलाइ बिभिन्न आर्थिक राहत प्याकेजहरू पनि दिएको छन र सरकारहरूले श्रम कानुन निलम्बन या खारेज नगरी तिनमै टेकेर निर्णयहरू गरिरहेको हुंदा प्रत्येक उद्धारका केशहरूको शुक्ष्म बिश्लेषण गरी जो जति जिम्मेवार हुनुपर्ने हो, सोही बमोजिम कानुनी कार्यान्वयन र उपचारको खांचो पनि रहिरहेको छ । अतः आफ्ना सबैखाले हक, अधिकारहरू बारे सचेत रहौं, प्राप्तीका लागि सबै श्रमिक बर्ग एकताबद्ध भइ पहल गरौं । यो माहामारीले कुनै पनि कामदारहरूको हक र सुविधा नछिनोस, सरकार र दूतावासहरू हामी कामदारहरू प्रति, नागरिक प्रति जिम्मेवार र जबाफदेही बनून ।

Leave a Reply