
संस्था परिचय
परिचय
बैदेशिक रोजगारका लागि बिदेशिएका नेपालीहरू निकै ठूलो संख्यामा रहेर पनि सुसंगठित हुन नसकेको, नेपालीकै नाम र सेवा गर्न भनि कैयन संघ संस्थाहरू खुलेका भएता पनि आप्रबासी कामदारहरूले सांचो अर्थमा चाहिएको सहयोग पाउन नसकेको पृष्ठभूमिमा शत प्रतिशत कामदारहरूमै समर्पित, कामदारहरूकै बिशिष्ट सरोकार तथा कल्याणका क्षेत्रमा कामदारहरूबाटै कामदारहरूकै माझ कृयाशिल रहनेगरी स्थापना गरिने साझा चौतारी हो आप्रबासी कामदार समाज नेपाल । शुरूवात जहांबाट जसले गरेपनि बैदेशिक रोजगारका लागि नेपालीहरू पुगेका बिश्वभरीका सबै मुलुकहरूमा साझा अन्तराष्ट्रिय सञ्जाल बनाइ सबै आप्रबासी नेपाली कामदारहरू यसमा सरिक हुन ढिलो चांडो जोडिन सक्नुहुनेछ । “बिश्वभरीका मजदुरहरू एक हौं” भन्ने बिश्वास र मान्यता राख्ने यो संस्था कुनै पनि दलिय राजनीति, धर्म, जाति संप्रदाय र क्षेत्रियताका सिमा र घेरा भन्दा माथि उठेर नेपालको मौलिकता र गौरबगाथाहरूको रक्षा गर्दै नेपालीको हितलाइ संस्थाले सर्बोपरी ठान्नेछ ।
उद्येश्यहरू
- नेपाली कामदारहरूमाझ चेतना अभिबृद्धी गर्ने
- कामदारहरूको कानूनी हक, अधिकार, कर्तब्य र सदाचार (DOs & DON’Ts) बारे अद्यावधिक जानकारी तथा सन्देश प्रबाह गर्दै जाने
- कामदारहरूमा पेशागत ज्ञान र शिप बिकास गर्दै बृत्ति बिकास (Career Development) मा सघाउने
- नेपालबाट श्रम स्वीकृति लिइ आएर पनि ठगि र अन्यायमा परेका, अलपत्र परेका शोषित पीडित नेपाली कामदारहरूको न्याय, उद्धार र क्षतिपूर्तिमा परामर्शदाता, पथ प्रदर्शक र सहजकर्ताको भूमिका निभाउने
- समाजमा सहि र सत्यवादी, नैतिकवान, सदाचारी, अधिकारकर्मी, न्यायकामी बन्दै निश्वार्थ सेवा गर्ने र यिनै जगमा ब्यक्तित्व बिकास गर्नेहरूलाइ प्रोत्साहित गर्ने
कार्यनीति
- संस्थाको आफ्नो बिधान, नियमावली र आचार संहिता हुनेछन जसमा एक अन्तराष्ट्रिय समन्वय परिषद र नेपाली कामदारहरूका गन्तब्य मुलुकहरूमा राष्ट्रिय समन्वय परिषदहरू स्थापित हुनसक्ने प्रावधान रहनेछन ।
- संस्थाको आफ्नो अफिसियल वेभ साइट हुनेछ, जसको सञ्चालन संस्थाले तोकेको सम्पादक मण्डलले गर्नेछ ।
- संस्थाकै नाममा सामाजिक संञ्जालमा पेज निर्माण गरिने छ ।
- संस्थाकै वेभ र सामाजिक सञ्जाल मार्फत नै संस्थाले कामदारहरूमाझ नियमित रूपमा अद्यावधिक सूचनाहरू, सन्देशहरू, रिपोर्टहरू र लेखहरू पस्किनेछ । कामदारहरूसंग अन्तर सम्वाद पनि गर्नेछ ।
- संस्थामा आवद्ध हुन चाहने सदस्यहरूका लागि संस्थाको वेभ पेजमै अनलाइन दर्ता पोर्टल (सुविधा) राखिनेछ ।
- संस्थाले सबै पीडित कामदारहरूले अनलाइन माध्यमबाटै समस्या दर्ता गर्न सक्ने,पाउने गरी पीडितका अावेदन फारम पनि वेभमै राखिदिनेछ ।
- यो संस्थाले कुनै पनि सदस्यहरूबाट सदस्यता शुल्क लिने छैन ।
- संस्थाले एक कामदार कल्याणकारी कोष स्थापना गर्नेछ, कुनै पनि सदस्य या शुभचिन्तकहरूले स्वेच्छाले दिने चन्दा सहयोग यो कोषमा राखिने छ, कोष सञ्चालनका लागि निर्देशिका हुनेछ र निर्देशिका बमोजिम पुर्ण पारदर्शी ढंगमा यो कोषको शत प्रतिशत रकम पीडित कामदारहरूको उद्धारमा सदुपयोग गरिनेछ ।
- संस्थामा पदिय जिम्मेवारी जसले जे जस्तो लिए पनि मुलतः सबै पदाधिकारीहरू “स्वयमसेवक”का रूपमा रहनुहुनेछ, संस्थाको काममा खटिनुपर्दाका सबै खर्चहरू संस्था र समाजलाइ सहयोग स्वरूप स्वयमले ब्यहोर्नुहुनेछ ।
- संस्थाले साइबर तथा डिजिटल प्रबिधिलाइ संस्था सञ्चालनमा अधिकतम उपयोग गर्नेछ । संस्थाको कुनै भौतिक कार्यालय हुनेछैन, कुनै पनि तलबी कर्मचारी रहनेछैनन ।
- संस्थाले नेपालमा नेपाल सरकारका बिभिन्न सम्बन्धित निकायहरूसंग र बिदेशमा नेपाली कुटनैतिक नियोगहरूसंग आवश्यक सम्पर्कमा रहि सहयोगी र सहजकर्ताको भूमिका निर्बाह गर्नेछ ।
- यो संस्थाले प्रबासमा पनि स्थापित सबै संघ संस्थाहरूप्रति सह सम्मान र मित्रभाव राख्दै सहकार्यका लागि तयार हुनेछ ।
- संस्थाले कामदारहरूकै हक हित हेर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी र बहुराष्ट्रिय संघ संगठन र निकायहरूसंग पनि कामदारहरूका हक हितमा आवश्यक पर्दा सहकार्य गर्ने कोशिस गर्नेछ ।