साउदीको अलसौदाह – नेपालको पर्यटन बिकासका लागि शिक्षा

साउदीको अलसदाह – नेपालको पर्यटन बिकासका लागि शिक्षा

– कमल महत

१७ मइ २०२१

म लगभग तिन महिना अगाडी कंपनीको कामको सिलसिलामा  साउदी अरबको राजधानी रियाधबाट अभा भन्ने स्थानमा केहि दिनको लागि आएको थिए।  तर साइट भिजिट र  मिटिङ्ग पछि प्रोजेक्ट तत्काल सुरु गर्नु पर्ने भएकोले म यतै बसे । सायद फेब्रुअरी अन्त्य अन्त्य तिर हुनुपर्छ, आप्रवासी कामदार समाजको फेशबुक पेजमा प्रत्येक दिन संदेशमुलक समाचार पोस्ट हुने गर्थे ।  फेशबुक हेर्ने क्रममा यसैको माध्यमबाट असिर प्रान्तमा  अलसौदाह भन्ने स्थानको बारेमा जानकारी पाएको थिए ।  अनि मलाई अवसर मिल्यो  भने एक पटक जानु पर्ला भन्ने योजना बनाएं । किनकि यो स्थान म बस्ने ठाउबाट नजिक लगभग ७० किमी मात्रै रहेछ ।

इद छुट्टीको समय पारेर म यो स्थानमा पुग्ने अवसर मिल्यो  । आफै  ड्राइभ गरेर गएको म, ड्राइभिङ गर्दा सडक वरिपरिका मनोरम दृश्यले मलाइ नेपालमै पुगेको अनुभुति गराइरहेको थियो । ति दृश्यहरूलाइ मैले फेशबुक लाइभ मार्फत मेरा फेशबुक मित्रहरूलाइ शेएर नगरी मनले मानेन । तर ड्राइभिङ गर्दा मोबाइल प्रयोग गर्नु यहाको ट्राफिक कानुनको उल्लङ्घन हो । स्वचालित क्यामेरा वा प्रत्यक्ष प्रहरिको नजरमा परे लगभग नेपाली रू. १०,००० (दश हजार) जरिवाना तिर्नु पर्ने हुन्छ । यो जान्दा जान्दै पनि मैले फेशबुक लाइभ गरें । धेरै जसो मित्रहरूले फेशबुक लाइभबाटै भए पनि हेर्ने अवसर पाउनु भयो ।

अनि यात्राकै क्रममा सोचें इच्छा शक्ति र राष्ट्रको असल नेतृत्व भए सबै कुराको संभव रहेछ । जस्तो की मरूभुमिको देश भनेर चिनिने साउदी अरब जहां केहि क्षेत्रफलमा फैलिएको पहाड सँगै हरियाली र कृषी ब्यबसाय भएको असिर प्रान्तको सौदाह भनिने यो स्थानलाइ साउदी अरबले प्रमुख पर्यटक स्थलका रूपमा बिकास गर्ने भएको रहेछ । अर्बौ रियाल लगानी गर्दै सन २०३० सम्ममा यहां २,७०० कोठा भएका होटलहरू, १,३०० आवासीय युनिटहरू र ३० वटा ब्यापारिक तथा मनोरञ्जनात्मक केन्द्रहरूको निर्माण तथा बिकास हुने छ । जहाँ मैले प्रत्यक्ष अबलोकन गर्न पाएं ।

साउदी अरबको पर्यटन क्षेत्रको योगदानका बारेमा भन्नु पर्दा कुल गाहर्स्थ उत्पादन (GDP) मा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान लगभग ३.५ प्रतिशत रहेको छ, यसलाइ क्रमशः बृद्धी गर्दै सन २०३० सम्ममा १० प्रतिशत पुर्याउने लक्ष राखेको छ ।  जसमा साउदी अरबले पर्यटन क्षेत्र बिकास गर्न सन २०२३ भित्रै २२० अर्ब साउदी रियालको लगानी आकर्षित गर्ने लक्ष र कार्य योजना बनाएको छ । नियोम, किद्दीया, लाल सागर र दिरिया गेटलाइ प्रमुख पर्यटकिय क्षेत्रका रूपमा बिकास गर्नेगरी ठूलो लगानी गरिदैछ । साथै साउदी अरबले क्लाइमेट चेञ्ज, ग्लोबल वार्मिङ र बिश्व पर्यावरण सुधारमा बिशेष योगदान दिन बिशेष लक्ष र कार्य योजना बनाइ लक्षमा अघि बढिरहेको छ । जसमा सन २०३० सम्ममा साउदी अरबमा १० अर्ब रूख रोप्ने, ५०% उर्जाका लागि तेल प्रयोग नगरी नविकरणीय उर्जा प्रयोग गर्ने र कार्बन उत्सर्जनलाइ 4R (Reduce, Reuse, Recycle & Remove) को चक्रिय कार्बन अर्थ प्रणाली अबलम्बन गर्दै कार्बन उत्सर्जनमा कमि ल्याउने भएको छ ।

यो स्थान घुम्ने क्रममा सोचें प्रर्यटकका लागी त मेरो देश सांस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा साहसिक आकर्षणका विविधताले भरिएको सुन्दर गन्तव्य हो । नेपाल विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्य पनि हो । विश्व सम्पदा सूचीमा समावेश भएका तथा अन्य अनुपम र अद्वीतिय प्राकृतिक, सांस्कृतिक र मनोरञ्जनात्मक सम्पदाहरु नेपालका प्रमुख पर्यटकीय आकर्षण हुन् । हामी सँग छन मात्र भनेर भएन यसका लागि यिनको सहि ढंगले संरक्षण, संबर्द्धन, बिकास र प्रचार-प्रसारमा जोड दिनुपर्ने हुन्छ ।

त्यसैले नेपालमा पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि दक्षिण एसियामा आगमन हुने पर्यटकहरुको कूल सङ्ख्या र पर्यटकबाट हुने लाभको हिस्सा नेपालले धेरै कम पाउने गरेको छ। जस्तोकी पर्यटन प्रतिस्पर्धात्मक मानकमा नेपाल १०३औं, भारत ४०औं, श्रीलंका ६४औं, भुटान ७८औं, पाकिस्तान १२४ औं, बंगलादेश १२५ औं स्थानमा छन । नेपालमा पर्यटन क्षेत्रले कुल रोजगारीको लगभग ३.२ प्रतिशत मात्रै र पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान कुल गाहर्स्थ उत्पादन (GDP) मा लगभग २.६ प्रतिशत मात्रै योगदान रहेको छ, जुन विगतको भन्दा घट्दो अवस्था हो । यो अवस्था हुनमा माहामारी कोभिड-१९ को कारण पनि होला साथ साथै हाम्रा कमिकमजोरीहरू पनि होलान ।

अलसौदाहको अवलोकन गरिरहे अनि सोचे मेरो देश त हिमाल, पहाड, तराइ, जङ्गल अनि नागबेली जस्तै देखिने नदिनालाहरूले सिङगारिएको छ । प्रकृतिले दिएको यो प्राकृतिक उपहारलाइ साउदी अरबको जसरी सहि ढंगले संरक्षण, संबर्द्धन, बिकास र प्रचार-प्रसार गर्न सके  मेरो देशमा कति धेरै पर्यटक आउंथे होला । यहाको जति लगानी, मेहनत पनि गर्नु नपर्ने किनकि यसको संरक्षण र सामान्य बिकास जस्तोकि राम्रो सडक, बिजुली, पानी, सञ्चार, आवास, बैंक, सुरक्षाको ग्यारेन्टी, स्वास्थ्य उपचार साथै धेरै भन्दा धेरै सबै स्थानमा सुविधायुक्त सफा सार्वजनिक शौचालय यति मात्रैको बिकास भए आन्तरिक र बाह्य पर्यटकको घुंइचो लाग्ने मेरो अनुमान छ । प्राकृतिक छटा त हामिलाइ प्रकृतिको वरदान छंदै छ ।

Leave a Reply